विश्वलाई त्रसित बनाउँदै गरेको कोरोना, कहाँ के हुँदैछ ?

विश्वलाई त्रसित बनाउँदै गरेको कोरोना, कहाँ के हुँदैछ ?
फाइल तस्वीर
आइतवार, चैत्र २, २०७६

सन्तोष बिके थापा

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र त्रासले मुलुकहरु आक्रान्त बनेका छन् । कोरानोको प्रभावले मानिसहरुको मृत्यु मात्र भएको छैन ।

यसले विश्व वातावरणलाई आतंकित पनि पारेको छ । नेपाल जस्तै केही मुलुकमा यसको संक्रमण नफैलिएपनि यसबाट सिर्जित थुप्रै प्रभावले मुलुकहरु जोखिम उठाउन बाध्य बनेका छन्।

नेपालमा कोरोना भाइरसको संक्रमण एक व्यक्ति बाहेक अन्यमा नफैलिएपनि यसको जोखिमलाई भने नकार्न सक्ने अवस्था देखिदैन । अझ यो सम्बन्धी जानकारहरु त नेपालले कोरोना भाइरसको सामना गर्ने निश्चित भएको र अवस्था भयावह हुने दाबी गर्छन ।

नेपालमा कोरोना भाइरस कै प्रभावका कारण देशको सामान्यदेखि जटिलसम्मका समस्या उत्पन्न भएका छन् । विश्व नै कोरोनाको त्रासले सशंकित अवस्थामा रहँदा नेपालले अर्थतन्त्रदेखि पर्यटन क्षेत्रसम्मको लगानी चुकाउनु परेको छ ।

नेपालका अधिकाशं पर्यटकीय गन्तव्य, व्यापार व्यवसायहरु धरासयी अवस्थामा छन् । बजारमा सामान्य मास्कदेखि दैनिक उपभोग्य बस्तुहरुको अभाव देखाई कालोबजारी भईरहेको छ । जसले नागरिकको दैनिकीलाई थप कष्टकर बनाउदैं गएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

कोरोनाको प्रभावलाई लिएर समाजमा विभिन्न खाले अफवाह पनि फैलिएका छन् । नागरिकस्तरमा कोरोना सम्बन्धी सचेतनाको अभाव र जगरुकता बनाउने विषयलाई सरकारले उचित सम्बोधन गर्दै आएको बताएको छ ।

तर कतिपय अवस्थामा सरकारकै जिम्मेवार व्यक्तिहरुले दिएको अभिव्यक्तिका कारण पनि सर्वसाधारणमा नैरास्यता छाएको छ । तर आयातबाटै चलेको देशमा कच्चा पदार्थ आउन रोकिएपछि सरकार पनि हाहाकारको अवस्था नर्कार्ने अवस्थामा नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।

स्वास्थ्य जस्तो संवेदनशिल विषयमा व्यापारीहरु नै स्वास्थ्य सामग्रीहरुको अभाव देखाउन थालेका छन् । जसलाई नागरिकको स्वास्थ्यमाथिको खेलवाड भनेर बुझ्न सकिन्छ । बजारमा अहिले चर्को मुल्यमा औषधीहरु बिक्री भईरहेको छ ।

भारतबाट आयात रोकिएको भन्दै व्यापारीहरुले अभाव देखाउँदा औषधी व्यवसायी संघ भने अझै केही महिनासम्म औषधिको अभाव हुनै नसक्ने दाबी गर्छन नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ ।

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणमा परी ५ हजार ८ सय ४५ जनाले ज्यान गुमाएका छन् । जसको संक्रमण विश्वका एक लाख ५७ हजार मानिसमा देखापरेको छ ।