भ्यालेन्सियाका पाँच खेलाडीलाई कोरोना भाइरसको संक्रमण

भ्यालेन्सियाका पाँच खेलाडीलाई कोरोना भाइरसको संक्रमण
सोमवार, चैत्र ३, २०७६

स्पेन– स्पेनिस क्लब भ्यालेन्सियाका पाँच खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अर्जेन्टिना तथा भ्यालेन्सियाका डिफेन्डर इजिक्वेइल ग्यारेसहित पाँच खेलाडीलाई कोरोनाको संक्रमण देखिएको बीबीसीले जनाएको छ ।

३३ वर्षे डिफेन्डर ग्यारेले सन् २०२० आफ्नो लागि खराब भएको बताउँदै आफु सामान्य अवस्थामा रहेको सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन् ।

भ्यालेन्सियाले आइतबार आफ्ना पाँच खेलाडीलाई कोरोना भाइरस पोजिटिभ देखिएको जनाएको छ । यस्तै भ्यालेन्सियाले आफ्ना स्टाफलाई पनि कोरोनाको संक्रमण भएको जनाएको छ ।

युरोपमा कोरोनाका कारण बढी प्रभावित हुने देशको सूचिमा स्पेन दोस्रो नम्बरमा पर्छ ।

आइतबार एकै दिन स्पेनमा ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या २८८ पुगेको छ । स्पेनले सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागू गरेको छ ।