पोखरामा २० हजार सिट क्षमताको अन्तर्राष्ट्रिय फुटबल रंगशाला बन्ने

पोखरामा २० हजार सिट क्षमताको अन्तर्राष्ट्रिय फुटबल रंगशाला बन्ने
सोमवार, चैत्र ३, २०७६

काठमाडौं। आगामी तीन महिनामा पोखरामा २० हजार सिट क्षमताको प्यारापिट सहितको अन्तर्राष्ट्रिय फुटबल रंगशाला निर्माण कार्य सम्पन्न गर्ने राखेपले बताएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले हिजो पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा राखेप सदस्य सचिव रमेश कुमार सिलवालले १६ हजार ५ सयको सिट क्षमतामा पुनः ३ हजार ५ सय सिट थप गरी प्यारापिट सहितको फुटवल स्टेडिएम निर्माण गर्ने बताएका हुन् ।
१ अर्ब २८ करोडको लागतमा पोखरामा निर्माणाधिन पोखरा फुटवल स्टेडियममा ३ हजार ५ सय सिट क्षमता बढाउँदा करिब १५ प्रतिशत अर्थात् २० करोड बढी बजेट लाग्ने भएको उनले बताएका छन् ।

पोखरा रंगशालामा हाल प्रयोग भएको स्टील स्टक्चर उच्च गुणस्तरको भएकोले सिट न्यूनतम १० वर्ष र अन्य ५० वर्षसम्म टिक्ने सिलवालले बताएका छन्। पोखरामा राति पनि अन्तर्राष्ट्रिय प्रतियोगिता संचालनको लागि फ्लड लाइट र स्कोर वोर्डको व्यवस्थापन गरिने छ । .

गण्डकी प्रदेशमा आगामी फागुन महिनामा हुने नवौं राष्ट्रिय खेलकुदको लागि करिब ७५ करोडदेखि एक अर्ब बजेट माग गरिने राखेपले बताएको छ।
कोरोना भाइरसका कारण हाल जारी रहेका केही प्रतियोगिताबाहेक अन्य कुनै पनि खेल गतिविधि हाल अर्को सूचना नआउँदा सम्म स्थगित गरिएको पनि राखेपले जनाएको छ ।