कोरोनाको संक्रमण : नेपालसँग सीमा जोडिएको बिहारमा पहिलो एकको मृत्यु

कोरोनाको संक्रमण : नेपालसँग सीमा जोडिएको बिहारमा पहिलो एकको मृत्यु
आइतवार, चैत्र ९, २०७६

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा कोरोनाको संक्रमणबाट पहिलो एक व्यक्तिको मृत्यु भएको छ । बिहार राज्यमा दुईजना नयाँ सङ्क्रमित फेला परेका छन् ।

ती व्यक्ति कतारबाट फर्किएको बीबीसीले जनाएकमो छ । उनको मृत्यु शनिबार भएको थियो र पछि प्राप्त रिपोर्टमा उनमा कोरोनाभाइरस पोजेटीभ देखिएको बताइएको छ।

नेपालको प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ सँग सीमा जोडिएको बिहारमा एकको मृत्यु भएपछि नेपाल जोखिमको थप खतरामा परेको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले ‘जनता कर्फ्यु’ लगाइएको भारतमा सङ्क्रमितहरूको सङ्ख्या बढेर ३४१ पुगेको छ।

जसअनुसार आइतबार मुम्बईमा छजना र पुणेमा चारजना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ सङ्क्रमित फेला परेका हुन्।

महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार त्यहाँ ७४ जनामा सङ्क्रमण भेटिएको छ र एकजनाको मृत्यु भएको छ।

आधिकारिक तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म छ जनाको मृत्यु भएको छ।