कोरोना त्रास : अर्घाखाँची जिल्ला ‘लकडाउन’ गर्ने निर्णय

कोरोना त्रास : अर्घाखाँची जिल्ला ‘लकडाउन’ गर्ने निर्णय
सोमवार, चैत्र १०, २०७६

अर्घाखाँची । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्घाखाँची जिल्लालाई ‘लकडाउन’ गरिने भएको छ । सोमबार राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको हो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो ।

अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालवाहक गाडीबाहेक अन्य सार्वजनिक, निजी सवारी साधन, मोटरसाइकलको आवागमन आज राति १२ बजेपछि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला विजयराज पाैडेलले जानकारी दिए ।

उनले भने, ‘अन्य जिल्लाबाट पैदल अर्घाखाँची जिल्ला प्रवेश गर्नेलाई समेत जिल्ला प्रवेश गर्ने स्थानमा स्वास्थ्य चेकजाँच गर्ने निर्णय भएको छ । अर्घाखाँचीमा जिल्ला प्रवेश गर्ने सार्वजनिक यातायात, नीजि सवारी साधन लगाएत सबै तत्काल बन्द गर्ने निर्णय भएको छ ।’

पाैडेलका अनुसार मालवाहक सवारी साधन निर्वाधरूपमा चल्नेछन् । मालवाहक गाडीका चालक र सहचालकको हेल्थ डेस्कमा स्वास्थ परीक्षण हुनेछ ।

औषधि पसल र पेट्रोलपम्प २४सै घण्टा खुला रहनेछन् । खाद्यान्न, ग्यास, तेल, फलफूल पसल प्रत्येक दिन बिहान १० बजेदेखि २ बजेसम्म खुला रहनेछन् । दूध डेरी, फलफूल तथा तरकारी पसल बिहान ६ देखि ९ र बेलुका ४ देखि ७ बजेसम्म खुला हुने उनले जानकारी दिएका छन् ।