एटिएम बुथ नभएका बैकका शाखामात्रै खुल्ने

एटिएम बुथ नभएका बैकका शाखामात्रै खुल्ने
बुधबार, चैत्र १२, २०७६

काठमाडौं । नेपाल बैकर्स संघले  एटीएम बुथ नभएका शाखाहरु सीमित अवधि खोल्न आफ्ना सदस्य बैंकहरुलाई जारी गरेको ‘एड्भाइजरी’ जारी गरेअनुसार एटीएम नभएका शाखा हरेक दिन ११ बजेदेखि १ बजेसम्म खोल्नुपर्ने भएको छ ।

सरकारले मंगलबारदेखि लकडाउन गरेपछि बैंकका शाखाबाट दिने सेवा प्रभावित भएको हो। बैंकले ‘डिजिटल बैंकिङ’ लाई प्रबद्धन गर्नु पर्ने छ। एटीएम भएका शाखाहरु भने बन्द हुने छन् । एटीएम भने निरन्तर सञ्चालन हुने छ ।

काठमाडौं बाहिरका शाखा खासगरी गाउँमा रहेकालाई त्यहाँको शाखा प्रबन्धकले जिल्ला प्रशासन कार्यालय वा स्थानीय निकायसँग समन्वय गर्नु पर्ने र त्यहाँको स्थानीय प्रशासनले स्वीकृति नदिए शाखा बन्द हुनेछ।

नगदबाहेकका अन्य आकस्मिक सेवाका लागि बैंकको मूख्य कार्यालय वा तोकिएको शाखाबाट सेवा उपलब्ध हुने छ। खासगरी प्रतितपत्र (एलसी), ग्यारेन्टी, ट्रजरीजस्ता सेवा मूख्य कार्यालय र तोकिएको शाखाबाट उपलब्ध हुने छ।

अहिले बैक तथा वित्तीय संस्थामा तीन हजार ६६२ वटा एटीएम सञ्चालनमा छन्। यसमध्ये तीन हजार २७४ शाखा बाणिज्य बैंकहरुको मात्र छ।

सबै एटीएममा पैसा भरिएकाले बैंकसँग नगद नोटको अभाव पनि देखिन थालेको छ। देशभर रहेका ३६६२ वटा एटीएममा कम्तिमा २० लाख रुपैयाँका दरले पैसा राखिन्छ। यसो हुँदा कुल ७ अर्ब ३२ करोड ४० लाख रुपैयाँ एटीएममा रहन्छ।

सरकारले लक डाउन गर्छ भन्ने हल्ला फैलिएपछि सर्वसाधारणले नगदको स्टक बढाएका छन् । लक डाउनपछि पनि पैसा झिक्ने क्रम रोकिएको छैन। बैंकहरुले शाखामा आउनेलाई बढिमा १ लाखभन्दा धेरै भुक्तानी नदिन भनेका छन्। नगद अभाव हुने भन्दै एक लाखभन्दा बढि नदिन भनिएको हो।

सामान्य अवस्थामा राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप राख्ने र झिक्ने दुबै गरिरहेका हुन्थे। अहिले पैसा राख्न छाडेर झिक्ने मात्रै गरिरहेका छन्।