एक परिवारलाइ एक महिनामा एउटा मात्रै ग्याँस सिलिण्डर दिने तयारी

एक परिवारलाइ एक महिनामा एउटा मात्रै ग्याँस सिलिण्डर दिने तयारी
बुधबार, चैत्र १२, २०७६

काठमाडौ । नेपाल आयल निगमले एक महिनामा एक परिवालाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति भएको छ । कोरोनाको असर लम्बिन सक्ने आँकलन गर्दै निगमले यस्तो व्यवस्था गरेको हो ।

बजारमा ग्यास अभाव हुन नदिन र प्रभावकारी व्यवस्थापनका लागि नयाँ व्यवस्था लागू गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । ‘डिलरले बिक्रेतालाई ग्यास बिक्री गर्दा मासिक रूपमा ‘एक परिवार, एक सिलिन्डर’को प्रक्रिया अपनाई बिक्री वितरण गर्नुपर्नेछ । बिक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बर प्रस्ट खुलेको रेकर्ड राख्नुपर्नेछ,’पौडेलले भने,‘उक्त रेकर्ड जिल्ला प्रशासन वा निगमले जुनसुकै बेला माग गर्न सक्नेछ ।’

निगमले ग्यास उद्योगको भण्डारणको जिम्मा गृहलाई दिइने जनाएको छ । आकस्मिक परिस्थितिजन्य माग धान्‍न भण्डारण गृहका रूपमा प्रयोग गरिने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘भण्डारण गृहमा गरिने मौज्दात सम्बन्धित उद्योगको भण्डारण क्षमताको करिब ५० प्रतिशतसम्म हुने र एक महिनाभित्र उक्त कार्य पूरा गर्ने व्यवस्था मिलाइनेछ,’विज्ञप्तिमा भनिएको छ । अत्यावश्यक सेवाको सुनिश्चितताका लागि प्रत्येक ग्यास उद्योगले आफ्नो उद्योगको दुई दिनको सिलिन्डर बिक्री बराबरको परिमाण तयारी अवस्थामा राख्न पनि निगमले भनेको छ । यसरी राखिएको सिलिन्डर बिक्रीवितरण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशनबमोजिम गर्नुपर्नेछ ।