‘अमेरिकन आइडल’मा दिवेशको तहल्का

‘अमेरिकन आइडल’मा दिवेशको तहल्का
बिहिबार, चैत्र १३, २०७६

काठमाडौं : अमेरिकामा समेत कोरोना कहरले गाँजेको छ। उता अमेरिकाको रियालिटी सो ‘अमेरिकन आइडल’मा छनोट भएका नेपाली मूलका एक युवा दिवेश पोखरेलले आफ्नो दमदार प्रस्तुतिले पुनः तहल्का मच्चाएका छन्।

दिवेशले सोमबार दिएको प्रस्तुतिले निर्णायक मण्डलका तीनैजना निर्णायक नै प्रभावित भएर प्रशंसा गरेका थिए। अघिल्लो हप्ताझै यस हप्ता पनि सबै निर्णायकहरू उठेर ताली बजाएका थिए।

२१ वर्षे युवा गायक दिवेश पोखरेलले सुरुआतको हप्तामा आफूलाई अर्थर गनको रूपमा चिनाएका थिए। अघिल्लो हप्ता दिवेशले हलिउड राउन्डमा १९६८ मा अमेरिकन गायक ओटिस रेडिङको सुपर हिट गीत ‘हार्ड टु ह्यान्डिल’ गाएका थिए।

उनको प्रस्तुतिपछि निर्णायकहरूले पूरा गीत गाउन अनुरोध गरेका थिए। स्मरण रहोस्, निर्णायक लियोनल रिचीले दिवेशको प्रस्तुति आफूलाई बब मार्लीको झल्को दिएको प्रतिक्रिया दिँदै उनको प्रशंसा गरेका थिए।

यही फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै उनको चर्चा एकाएक चुलिएको थियो। दिवेश सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पाइला टेकेका थिए।

अनलाइन अडिसन र विचिटामा अमेरिकन आइडलका छनोटकर्तासँगको प्रस्तुतिबाट अडिसन पुगेका दिवेशले यसअघिको प्रस्तुतिमा क्रिडेन्स क्लियरवाटर रिभाइभ्ड ब्यान्डको ‘ह्याभ यु एभर सिन द रेन’ गीत, बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गीत गाइसकेका छन्। नोबेल पुरस्कार विजेता संगीतकार डिलनले सन् १९६३ मा यो गीत रेकर्ड गराएका थिए।