क्वारेन्टाइनमा उपचारका लागि खटिएका स्वास्थ्यकर्मी कुटिए

क्वारेन्टाइनमा उपचारका लागि खटिएका स्वास्थ्यकर्मी कुटिए
घटनाको विरोध गर्दै नगरपालिकाले निकालेको विज्ञप्ति
बिहिबार, चैत्र १३, २०७६

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाको क्वारेन्टाइनमा उपचारका लागि खटिएका एक स्वास्थ्यकर्मी कुटिएका छन् । पालिकाको ५ नम्बर वडामा रहेको भूमिराज मावि क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी करनसिंह धामी कुटिएका हुन् ।

क्वारेन्टाइमा राखिएका आफ्‍ना एक आफन्तले किन राखेको भन्दै स्थानीय नरेन्द्र जागरीले अहेब धामीलाई कुटपिट गरेका हुन्। बुधबार पालिकाले भारतबाट फर्केका ७ जनालाई सोही विद्यालयमा राखेको थियो।

जागरीले बुधबार राति कोठाभित्र जबरजस्ती प्रवेश गरेर गाली गलौज गरी कुवाकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब धामीलाई कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायाण पाण्डेयले बताए।

स्वास्थ्यकर्मी धामीलाई कुट्ने जागरीलाई प्रहरीले नियन्त्रण लिएको छ। कुटाइ खाएका स्वास्थ्यकर्मीलाई सामन्य चोट लागेको थियो।

नगरपालिकाले स्वास्थ्यकर्मी कुट्नेमाथि कडा कारबाही हुनुपर्ने जनाएको छ।

देश लकडाउनमा रहेको अवस्थामा सहयोग गर्नुको साटो ड्युटीमा रहेका स्वास्थ्यकर्मी कुट्नेलाई हदैसम्मको कारबाही र स्वास्थ्यकर्मीको उपचार खर्च पीडकले व्यहोर्नु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।