‘लकडाउन’ले ठप्प अवस्थामा मुलुक, अटेर गरी बाहिर निस्कनेलाई कानूनी दायरामा ल्याइने

‘लकडाउन’ले ठप्प अवस्थामा मुलुक, अटेर गरी बाहिर निस्कनेलाई कानूनी दायरामा ल्याइने
शुक्रबार, चैत्र १४, २०७६

काठमाडौं – काठमाडौं उपत्यकामा नै एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले नेपालभर लकडाउन गरेको आज (बिहिबार) चौथो दिन, सडक सुनसान छन् ।

अपवादबाहेक मानिसहरुको आवातजावत देखिएको छैन् । अत्यावश्यक भनिएका पसलहरु पनि आक्कलझुक्कल मात्र खुल्दा मुलुक ठप्प अवस्थामा छ ।

मंगलबारदेखि जारी ‘लकडाउन’ मा सरकारले अब यसअघिका तीन दिनको जस्तो सम्झाइ बुझाई गरेर नछाड्ने चेतावनी दिएको छ ।

तीन दिनसम्म कतिपय मानिसहरुमा सूचना नपुगेको र कतिपय व्यवहारिक कारणले समेत सम्झाइ बुझाई गरेर छाडिएकोमा अव त्यस्तो नगरिने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

‘आम मानिसकै हितका लागि चालिएको कदममा सबै साथ हुनुपर्छ,’ गृह प्रवक्ता केदारनाथ शर्माले भने, ‘आजदेखि पनि लकडाउनलाई अटेर गरेर हिड्नेलाई कानूनी दायरामा ल्याउँछौ ।’

यसअघि तेस्रो दिन पनि विभिन्न जिल्लामा प्रहरीले  सवारीसाधन नियन्त्रण गरेर कतिपयलाई व्यवहारिकता हेरेर छाडेका थिए भने कतिपयलाई एक हजार रुपैयाँसम्म जरिवाना लिएको थियो ।

तर धेरैजसोलाई बिहिबारसम्म सम्झाइ बुझाई गरि सामान्य जरिवाना गरेर छाडिएको थियो ।

बिहिबार ‘लकडाउन’ उल्लंघन गरेपछि काठमाडौं उपत्यकामा मात्रै  २ सय ३५ वटा सवारीसाधन नियन्त्रणमा लिइएको थियो ।

‘लकडाउन’ उल्लंघन गरे संक्रामक रोग नियन्त्रण ऐन र स्थानीय प्रशासन ऐन अनुसार अपराधको गाम्भिर्यता अनुसार जरीवानादेखि ६ महिनासम्मको जेल हुन सक्ने प्रावधान छ ।

‘लकडाउन’ मा खाद्यान्न, तरकारी, दुध, पानी, ग्याँस, औषधि लगायत अत्यावश्यक सेवा वा वस्तुको प्रवाहमा कुनै कमी नहुने गरी त्यस्ता पसलहरु सञ्चालन गर्न आह्वान गरेका छन् । तर त्यस्ता पसलहरु निश्चित अवधिका लागि मात्र खोल्न आह्वान गरिएको छ ।