कोरोना जोखिमलाई ध्यान दिँदै सिरहा कारागारबाट २१ कैदीबन्दी रिहा

कोरोना जोखिमलाई ध्यान दिँदै सिरहा कारागारबाट २१ कैदीबन्दी रिहा
आइतवार, चैत्र १६, २०७६

सिरहा । कारागारमा ठूलो सङ्ख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला अदालत सिरहाको आदेशबमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका २१ कैदीबन्दीलाई छाडेको सिरहा कारागारका जेलर बबिता महतोले जानकारी दिए ।

कोरोनाको सम्भावित जोखिमका कारण अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय भएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी रहेको समयवापतको रकम तिराएर छाड्न दिएको आदेशानुसार ती कैदीबन्दीबाट रकम तिराएर छाडिएको जेलर महतोले बताए ।

कूल १५० जना क्षमता रहेको कारागारमा हाल २० महिलासहित ५५१  कैदीबन्दी छन् । एक जनामा सङ्क्रमण भएमा केही दिनमै धेरैलाई फैलन सक्ने भएकाले कैदीबन्दीलाई विगत एक सातादेखि आफन्तजनसँग पनि भेटघाट गर्न नदिएको र कोरोना भाइरस सङ्क्रमणबाट बच्ने उपायबारे सचेत गराइरहेको जेलर महतोको भनाइ छ ।