बिरालोमा समेत देखियो कोरोना भाइरसको संक्रमण !

बिरालोमा समेत देखियो कोरोना भाइरसको संक्रमण !
आइतवार, चैत्र १६, २०७६

काठमाडौं- बेल्जियममा एक बिरालोमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । घरमालिकबाट बिरालोमा कोरोना भाइरस सरेको बताइएको छ ।

द ब्रसेल्स टाइम्सका अनुसार बिरोका घरमालिक हालै इटालीबाट फर्केका थिए । बिरालोको दिशाबाट कोभिड–१९को संक्रमण भएको पुष्टि गरिएको हो ।

विशेषज्ञहरुले भने यो घटना अपवाद भएको भन्दै आफ्ना घरेलु जनावर र उनीहरुबाट आफ्नो सुरक्षाको विषयमा नडराउन सबैलाई आग्रह गरेका छन् ।

केहीले भने यो परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । यसबारे अझै धेरै परीक्षण गरिनुपर्ने उनीहरुको तर्क छ । यसबारेमा थप परीक्षण नगरिए त्यसले राम्रो नतिजा नदिने आलोचकहरुले बताएका छन् ।

यसअघि कुकुरमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

हङकङमा गरिएको परीक्षण अनुसार एउटा घरपालुवा कुकुर संक्रमित भेटिएको हो । हङकङ आइल्याण्डस्थित पोक फु लाम क्षेत्रमा ‘जर्मन सेफर्ड’ जातको कुकुरलाई केही दिनअघि क्वारेन्टाइनमा पठाइएको थियो ।

उक्त कुकुरको मालिकलाई पनि संक्रमण भएको थियो । कोरोना भाइरस पहिचान भएको प्रारम्भिक अवस्थामा कुकुर, बिरालो जस्ता घरपालुवा जनावरमा कोरोना भाइरस नभेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको थियो ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार हालसम्म दुई वटा कुकुरलाई संक्रमण भइसकेको छ ।