लकडाउन बढ्ने निश्चित, मन्त्रिपरिषदबाट अनुमोदन हुन बाँकी

लकडाउन बढ्ने निश्चित, मन्त्रिपरिषदबाट अनुमोदन हुन बाँकी
आइतवार, चैत्र १६, २०७६

काठमाडौँ । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै गत मंगलबारदेखि जारी लकडाउन अरु लम्बिने भएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरे कम्तिमा अरु ७ दिन लकडाउन बढ्ने निश्चित भएको हो ।

आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्‍‍म लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो ।

समितिको सिफारिसबारे अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ । यस्तै बैठकले विपन्‍नहरुलाई निःशुल्क राहत वितरण बारे पनि गर्न सरकारालाई सिफारिस गरेको छ।

यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। सरकारले यो सिफारिस अनुमोदन गरे चैत २५ गतेसम्मका लागि मुलुक लकडाउन हुनेछ।