अर्का एक नेपालीमा पनि देखियो कोरोनाको संक्रमण, संक्रमितको संख्या ६ पुग्यो

अर्का एक नेपालीमा पनि देखियो कोरोनाको संक्रमण, संक्रमितको संख्या ६ पुग्यो
बिहिबार, चैत्र २०, २०७६

काठमाडौं – नेपालमा अर्का एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलमा यस्तो जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड-१९ पोजिटिभ देखिएको हो।

उनले भने, ‘दोहाबाट काठमाडौं आएको QR – ६५२ उडानमा आएका व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको हो।’

छैटौं संक्रमण पनि बागलुङकै महिलामा भएको खुलेको छ । यसअघि पाचौं संक्रमण पनि बागलुङकै रहेको थियो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ । यसअघि सोही फ्लाइटबाट नेपाल आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा चैत १० गते र बाग्लुङकी १९ वर्षीया युवतीमा चैत १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पहिलो संक्रमित व्यक्ति २ महिनाअघि नै निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

जसमध्ये टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एक जना र धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा एक जनाको उपचार भइरहेको छ ।

कोरोना भाइरसको दोस्रो संक्रमण देखिएपछि नेपालमा सरकारले ११ गतेदेखि सुरु गरेको लकडाउन जारी छ ।