लकडाउनको १२औँ दिन : २१ हजारभन्दा बढीलाई सम्झाएर छाडियो, ३ जनालाई कैद

लकडाउनको १२औँ दिन : २१ हजारभन्दा बढीलाई सम्झाएर छाडियो, ३ जनालाई कैद
शनिबार, चैत्र २२, २०७६

काठमाडौं ।  कोरोना भाइरसको जोखिम बढेपछि सरकारले लकडाउन गरेको आज १२औं दिन पुगेको छ ।

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारले आह्वान गर्दै लकडाउन जारी गरे पनि सरकारी आह्वान अटेरी गर्दै २१ हजार ८९६ जनाले लकडाउन उल्लंघन गरेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीका अनुसार १७ हजार ४६८ सवारीसाधन पनि नियन्त्रणमा लिएर छाडिएको छ ।

जोशीका अनुसार नियन्त्रणमा लिइएका अधिकांश मानिसलाई सम्झाई बुझाई गरेर छाडिने गरिएको छ ।

‘कतिपयको हकमा भने पटकपटक सम्झाउँदा पनि अटेरी गरेको पाइएपछि आवश्यक जरीवाना पनि गरिएको छ,’ प्रहरी प्रवक्ता जोशीले भने ।

काठमाडौँ उपत्यकामा उल्लंघन बढी,  चितवनमा  तीन जनालाई कैद

मुलुकभर लकडाउन उल्लंघन गर्ने २१ हजार ८९६ जनालाई नियन्त्रणमा लिइएकोमा काठमाडौं उपत्यकाका १७ हजार ५७३ जना छन् ।

बागमती प्रदेशमा ५ हजार २०५ वटा सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाहीपछि छाडिएको छ ।

बागमती प्रदेशकै चितवन जिल्लाले भने लकडाउन उल्लंघन गरेको अभियोगमा तीन जनालाई कैद गरेको छ ।

संक्रामक रोग नियन्त्रण ऐन र स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारीले एक महिनासम्म कैद गर्न सक्ने अधिकारको प्रयोग गर्दै कैद गरिएको हो ।

कैद गरिएकाहरूले कैद नबसी भुक्तान गर्न बाँकी कैदको प्रतिदिन ३ सय रुपैयाँका दरले हुन आउने राजश्व र जरिवाना तिरेर कैदमुक्त हुने प्रावधान अनुसार तीनै जना कैदमुक्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

लकडाउनका बेला ट्रकमा यात्रु ओसारेको पाइएपछि तीन जनालाई जरीवाना र कैद सजाय गरिएकोमा कैद बराबरको राजश्व तिरेपछि उनीहरुलाई छाडिएको प्रजिअ भट्टराईले बताए ।

प्रदेश १ मा ३३२ जनालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडिएको छ । त्यहाँ ३ हजार ९५ वटा सावरी साधन नियन्त्रणमा लिइएकोमा आवश्यक कारबाहीपछि छाडिएको छ  ।

प्रदेश २ मा लकडाउन सुरु भएयता २१० जनालाई नियन्त्रणमा लिइएकोमा उनीहरूलाई पनि सम्झाई बुझाई छाडिएको छ । त्यहाँ १ हजार ६५० वटा सवारीसाधनलाई आवश्यक जरिवाना लिएर छाडिएको छ ।

लकडाउन उल्लंघन गर्ने गण्डकी प्रदेशका ९७४ जनालाई सम्झाई बुझाई छाडिएको छ । त्यहाँ १ हजार ९४४ सवारीसाधन नियन्त्रणमा लिइएको थियो ।

नेपाल प्रहरीका अनुसार लकडाउन सुरु भएयताका ११ दिनमा प्रदेश ५ मा ५६१, कर्णाली प्रदेशमा १३८ र सुदूरपश्चिम प्रदेशमा ४१० जनाले लकडाउन उल्लंघन गरेका छन् ।