बढी उपभोग गर्ने तारे होटल बन्द भएपछि पनि किन ग्यास अभाव ?

निगम भन्छ अब माग घट्छ

बढी उपभोग गर्ने तारे होटल बन्द भएपछि पनि किन ग्यास अभाव ?
शनिबार, चैत्र २२, २०७६

काठमाडौं-उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल आयल निगमले सञ्चालन गरिरहेको टेकुस्थित डिपोको अनुगमन गरेका छन्।

खाद्यान्न तथा पेट्रोलियम पदार्थको आपूर्ति र बिक्रीमा कुनै समस्या नभएको बताएका मन्त्री भट्टले निगम व्यवस्थापन आफैले उपभोक्तासम्म ग्यास पुर्याउने काम गरेकोमा धन्यवाद पनि दिए।

निगम व्यवस्थापनको प्रशंसा गर्दैगर्दा मन्त्री भट्टले सबैभन्दा बढि ग्यास खपत गर्ने होटल लगायत व्यापारिक क्षेत्र बन्द हुँदा पनि ग्यास आयात कम नभएपनि धेरैले ग्यास नपाएको गुनासो गरिरहनुको कारण के हो भन्दै प्रश्न गरे।

‘आपूर्तिमा समस्या छैन, स्टक पनि पर्याप्त मात्रामा छ। तैपनि ग्यासमा समस्या देखियो भन्ने कुरा आएको छ,’ मन्त्री भट्टलेले भने, ‘नेपालीहरुको सञ्चित गर्ने बानीले केहि समय अभाव देखिएको हो,’ तर अब ग्यास माग घट्ने छ।’

हाल विभिन्न कम्पनीहरुले डिपो बाहेक अन्य स्थानमा समेत स्टल राखेर ग्यास बिक्री गरिरहेकोले अभाव हटेर जाने उनले बताए।

निगमले उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउने भन्दै बिभिन्न कम्पनीका ग्यास बिक्री सुरु गरेको थियो। गत १८ गतेदेखि बिक्री सुरु गरेको निगमले हालसम्म ६ सय ८८ सिलिण्डर ग्यास बिक्री गरेको छ।

निगमको हटलाइनमा आएको मागको आधारमा अशक्त/अपाङ्गलाई घरमै पुर्याउने जानकारी गराएको छ। हाल बाबा, श्रीकृष्ण, मनोज, नेपाल, एसटिसी, लोकप्रिय लगायत १८ कम्पनीका ग्यास निगमले आफ्नो डिपोबाट बिक्री गरिरहेको छ।

हस्पिटल, आश्रम लगायत क्षेत्रलाई ग्यास दिने गरेको छ भने फोनकै भरमा डेलिभरी गर्ने गरेको निगममा कतिपयले कल गरेर झुक्यायने गरेको तथा अपाङ्ग हो भनि व्यापारीले ग्यास लिन खोजेको बताएको छ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अहिले माग कम हुँदै गएकाले बजारमा अभावको अवस्था हराएको दावी गरे।

‘पछिल्लो पाँच दिनलाई हेर्दा दैनिक एकलाख १० हजार सिलिण्डर बिक्री हुने गरेको छ। शुक्रबार मात्रै १ सय ५० बुलेट लोडिङ भएका छन्,’ निर्देशक पौडेलले भने, ‘अहिलेको दैनिक खपत भनेको एक लाख हो। उपत्यकामा ४० हजार हो। तर, दैनिक १ लाख ८० हजार सिलिन्डर ग्यास आएको छ।’