हजार जनाको भिडमा २४ घण्टा विताएका थिए भारतबाट आएका कैलालीका कोरोना संक्रमितले

हजार जनाको भिडमा २४ घण्टा विताएका थिए भारतबाट आएका कैलालीका कोरोना संक्रमितले
शनिबार, चैत्र २२, २०७६

दिनेश बिष्ट

कैलाली- कैलालीमा नयाँ देखिएका कोरोना संक्रमित युवक ११ गते कैलालीको त्रिनगर नाकामा २४ घण्टा भिडमा बसेर आएको पाइएको छ।

कैलालीको लम्कीचुहा नगरपालिकामा भेटिएका कोरोना संक्रमित २१ वर्षीय युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किदा करिव एक हजारको भिडमा २४ घण्टा विताएका हुन्।

कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि सरकारले रोकथामका लागि चैत १० गते देखि लकडाउन र सीमा नाका बन्द गरेपछि उनी कैलालीको गौरीफन्टा नाकामा नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नाराबाजीमा उत्रिएको भीडमा पनि सहभागी थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले ११ गते गौरीफन्टा नाकाबाट गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएका यात्रुहरुमा उनी पनि रहेको पुष्टी गरे।

मन्त्रीपरिषद् बैठकको निर्णयपछि सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बस मार्फत गन्तव्य पठाएको थियो।

११ गते साँझ नै लम्की पुगेका उनलाई १२ गते बिहान मात्र लम्कीचुहा नगरपालिका वडा नम्बर ९ को प्रतापपुर सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखिएको थियो।

उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार १२ गते बिहान घरबाटै युवकलाई क्वारेन्टाईनमा ल्याईएको थियो।

नमुना संकलन गरी परिक्षणका लागि काठमाडौँ ल्याइएकोमा शनिबार रिर्पोट पोजेटिभ देखिएको हो। रिपोर्ट सार्वजनिकपछि एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पुर्‍याईएको हो।

तर, गौरीफन्टा नाकाबाट ती युवकसँगै फर्किएका ९ सय ९९ जना मध्ये अधिकांश घर गएका छन्। त्यसमध्ये केही मात्र क्वारेन्टाईनमा राखिएकाले कोरोना भाइरसको संक्रमण फैलने त्रास बढेको छ।

सुदूरपश्चिममा नयाँ भेटिएका तिनैजना कोरोना भाइरस संक्रमितको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

शनिबार धनगढीका पहिलो संक्रमित युवाकी ३४ वर्षीय भाउजु, भारतको मुम्बैबाट फर्किएका २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएपछि उनिहरुलाई धनगढीस्थित सेती अस्पतालमा उपचारका लागि ल्याइएको हो।

ती सबैको स्वास्थ्य अवस्था समान्य रहेको सेती प्रादेशिक अस्पतालका प्रवक्ता जगदीश जोशीले जानकारी दिए।

३४ वर्षीय युवती बाहेक अन्य दुईजनाको नमूना क्वारेन्टाइनबाट संकलन गरिएको थियो भने युवतीको नमूना सेती अस्पतालबाट संकलन गरिएकोे थियो।