लकडाउनमा पनि भारतीय आउनेक्रम नरोकिएपछि सीमानामा चेकपोष्ट बढाइयो

लकडाउनमा पनि भारतीय आउनेक्रम नरोकिएपछि सीमानामा चेकपोष्ट बढाइयो
बुधबार, चैत्र २६, २०७६

काठमाडौं – भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले प्रदेश नम्बर २ का सीमानाकामा थप चेक पोस्ट खडा गरेको छ ।

आठ जिल्लाका ४३२ किलोमिटरमा १०० को हाराहारीमा चेकपोस्ट रहेकोमा कोरोना सङ्क्रमणलाई ध्यानमा राखी सरकारले अरु २ सय २९ वटा चेकपोष्ट थपेको हो ।

तेस्रो चरणको लकडाउन उल्लङ्घन गर्दै भारतबाट नेपाल र नेपालबाट भारत आउनेजाने क्रम नरोकिएको भन्दै प्रदेश नं २ प्रहरीले सो सीमा क्षेत्रमा थप २२९ चेकपोष्ट थपेर त्यसको सङ्ख्या ३२९ बनाएको हो ।

लकडाउनमा पनि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम यथावत् रहेपछि चेकपोष्ट सङ्ख्या बढाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तिलक सुनारले जानकारी दिए ।

यसका लागि नेपाल तथा सशस्त्र प्रहरी दुवैको सङ्ख्या बढाइएको उनले बताए ।

‘प्रदेशमा पहिला सय वटाको हाराहारीमा मात्रै चेकपोष्ट थियो’, सूचना अधिकारी सुनारले भने, ‘अहिले त्यसलाई बढाएर ३२९ पुर्‍याएका छौँ ।भारतबाट नेपाल आउनसक्ने सम्भावित ठाउँमा चेकपोष्ट बनाइएको हो ।’