कोरोनाको त्रासले नेपाल–भारत सीमा नाका ठप्प पारिँदै, रानीगञ्ज नाकामा मालबहाक सवारी साधनलाई पनि निषेध

कोरोनाको त्रासले नेपाल–भारत सीमा नाका ठप्प पारिँदै, रानीगञ्ज नाकामा मालबहाक सवारी साधनलाई पनि निषेध
बिहिबार, चैत्र २७, २०७६

झापा । भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको रानीगञ्ज नाकाबाट मालबहाक सवारी साधन सञ्चालन गर्न नदिने निर्णय गरेको छ ।

भारतमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमितको संख्या बढ्दै र मानिसको मृत्यु हुन थालेपछि पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको भारतीय नाका रानीगञ्ज भएर कुनै पनि मालवहाक सवारी साधन नपठाउने भएको छ ।

पश्चिम बंगाल सरकारले नेपालसँगै भुटान, बंगलादेशसँग सीमा जोडिएका नाका लक गर्ने निर्णय गरेको छ । तर, नेपाली समकक्षीहरुलाई प्रशासनले लिखित जानकारी नदिएपनि मौखिक जानकारी दिएको जनाइएको छ ।

नोवल कोरोना भाइरस कोभिड १९ संक्रमण तथा लकडाउनको कारण देखाउदैं पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको भारतीय नाका रानीगञ्ज भएर कुनै पनि मालवहाक सवारी साधन नपठाउने जानकारी मौखिकरुपमा आफुलाई प्राप्त भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताएका छन् ।