मकवानपुरमा कोरोना त्रासले जचाँउने बढे : परामर्श दिँदै स्वास्थ्यकर्मी

मकवानपुरमा कोरोना त्रासले जचाँउने बढे :  परामर्श दिँदै स्वास्थ्यकर्मी
बुधबार, बैशाख ३, २०७७

रुपेश दुलाल

मकवानपुर – मकवानपुरमा लकडाउनका समयमा स्वास्थ्य संस्थामा जाँच गराउनेको संख्या बढेको छ।

मकवानपुरका स्वास्थ्य संस्थाहरुमा ज्वरो र रुघाखोकीका विरामीहरु कोरोना संक्रमण त्रास लिएर जाँच गराउने क्रम बढेको छ।

कोरोनाको लक्षणसँग मिल्ने ज्वरो र खोकी लागेका विरामीहरु आफुलाई कोरोना नै भएको हो कि भन्ने आशंका गर्दै जाँच्न स्वास्थ्य संस्थामा जाने गरेका छन्।

भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख प्रविण पाठकका अनुसार त्यसरी त्रास बोकेर पुग्ने विरामीलाई स्वास्थ्यकर्मीले चेकजाँचसँगै परामर्श दिएर फर्काउने गरेका छन्।

अहिले अधिकांश सरकारी स्वास्थ्य संस्थाले ‘ज्वरो क्लिनिक’ नै संचालन गरेर ज्वरोका विरामीलाई छुट्टै जाँच्ने व्यवस्था मिलाएका छन्। जसले अन्य सेवा लिन आएका विरामीलाईसमेत सहज भएको छ।

नीजि मेडिकल पसलले पनि कोरोनाको डर बोकेर औषधी लिन आउनेहरुलाई सम्झाएर पठाउने गरेका छन्।

हेटौडाको आयू पोलिक्लिनिका संचालक उत्सव चौलागाईका अनुसार अधिकांश विरामीहरुमा कोरोना लागिसकेको त्रासले डेरा जमाएको छ।

कोरोनाको त्रास विश्वभर फैलिएको अवस्थामा आफ्नो स्वास्थ्यमा आएको समस्या कोरोनाकै कारण हो कि भन्ने डर लाग्नु स्वभाविक हो।

तर, यस्तो त्रास पालेर बस्नुभन्दा नजिकको स्वास्थ्य संस्थामा पुगि चेकजाँच गरार ढुक्क हुन स्वास्थ्यकर्मीहरुले सुझाव दिनेगरेका छन्।