अस्पतालबाट काम सकेर घर जाँदै गरेका त्रिविका तीन चिकित्सक प्रहरीद्वारा कुटिए

अस्पतालबाट काम सकेर घर जाँदै गरेका त्रिविका तीन चिकित्सक प्रहरीद्वारा कुटिए
बिहिबार, बैशाख ४, २०७७

काठमाडौं– अस्पतालबाट काम सकेर घर फर्किदै गरेका तीन जना चिकित्सकमाथि प्रहरीद्वारा कुटपिट गरेको छ ।

त्रिवि शिक्षण अस्पतालका डाक्टर तेज प्रसाद शाह, डाक्टर शम्भु खनाल र कान्ति बाल अस्पतालका डाक्टर विकास शाहमाथि बुधबार राति प्रहरीले हातपात गरेको हो ।

आफूहरु अस्पतालको ड्युटीबाट फर्किएको भन्दाभन्दै पनि प्रहरीले लाठीचार्ज गरेको पीडित चिकित्सकमध्येका एक जना डा शम्भु खनालले जानकारी दिए ।

भ्यानबाट आउँदै गरेका प्रहरीले अस्पतालको आइडीकार्ड देखाउँदा देखाउँदै पनि आफूहरुमाथि हातपात भएको चिकित्सकहरुले बताएका छन् ।

उनीहरुले भने- ‘कोरोना भाइरसको संक्रमण जारी रहेका बेला हामी अहोरात्र खटिनुपर्ने अवस्था छ,  तर हामी प्रहरीबाट समेत असुरक्षित भयौं ।’

यसैबीच नेशनल रेसिडेन्ट डक्टर्स एसोसिएसनले चिकित्सकमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उसले बिज्ञप्ति जारी गर्दै घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । कारबाही प्रक्रिया अगाडि नबढाए कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।