लिपुलेकको विषयलाई अहिले नै अन्तर्राष्ट्रिय अदालत लैजाने बेला भएको छैन:- प्रचण्ड

लिपुलेकको विषयलाई अहिले नै अन्तर्राष्ट्रिय अदालत लैजाने बेला भएको छैन:- प्रचण्ड
आइतवार, बैशाख २८, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठिक हुनुपर्ने बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष दाहालले सरकारले दिने वक्तव्य अर्थात चिठी नीतिगत, सैद्धान्तिक र भावनात्मक रुपमा ठिक भएको तर एक्सन पनि ठिक नभएको बताए ।

लिपुलेक तथा जहाँ जहाँको सीमामा विवाद छ त्यो विषयमा भारत र चीन दुवै देशसँग छलफल गरिएको अध्यक्ष दाहालको भनाई छ । भारत र चीनले लिपुलेकको विषयमा गरेका सम्झौता पछि यो समस्या भारतसँगको मात्रै नभई त्रिदेशिय समस्या भएको अध्यक्ष दाहालले बताए ।

दाहालले यो विषयलाई अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा भने एकपटक सोच्नुपर्ने बताए । यो विषय सामान्य नभएको र भारतले पटक पटक नक्सा प्रकाशित गर्दा लिपुलेक, लिम्पियाधुरा आफ्नो नक्सामा पारेको विषयलाई समेत हिसाब गर्नुपर्ने उनको भनाई छ ।

कालापानीमा भारतीय सेना झण्डै ६०/६५ वर्ष पहिल्यै देखि बसिराखेको र त्यसको बारेमा गम्भिरता पूर्वक विषयलाई उठाउने र गम्भिरतापूर्वक समाधानको निम्ति पहल गर्नेमा विगत देखि अहिलेसम्म किन भएन भनेर समेत विश्लेषण गर्नुपर्ने उनको तर्क छ ।