अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगे नेपाली युवा गायक दिवेश 

अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगे नेपाली युवा गायक दिवेश 
सोमवार, बैशाख २९, २०७७

काठमाडौं- विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल यात्रारत छन् ।

उनी उत्कृष्ट सातभित्र पर्न सफल भएका छन् । उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउनेलाई उत्कृष्ट सातमा छनोट गरिएको हो ।

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गरिरहेका छन् ।

दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएका थिए।

अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ ।