मिक्लाजुङ गाउँपालिकाको नयाँ घोषणा : ४० मुरीभन्दा बढी धान वा ३५ मन भन्दा बढी आलु फलाए एक लाख पुरस्कार

मिक्लाजुङ गाउँपालिकाको नयाँ घोषणा : ४० मुरीभन्दा बढी धान वा ३५ मन भन्दा बढी आलु फलाए एक लाख पुरस्कार
सोमवार, बैशाख २९, २०७७

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले लकडाउनका कारण आउनसक्ने खाद्यसंकट टार्न नयाँ कार्यक्रम घोषणा गरेको छ।

गाउँपालिकाले लकडाउनका कारण किसान खेतिबाट टाढा बसे त्यसले खाद्य संकट निम्तने भन्दै गाउँपालिका भित्र ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसान परिवारलाई एकलाख राशीको पुरस्कार घोषणा गरेको हो।

गाउँपालिकाले चार फिट उचाई र  २० फिट लम्बाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई पनि एक लाख राशीकै पुरस्कार दिने घोषण गरेको हो। गाउँपालिकाले ३५ मन वा त्यसमभन्दा बढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो २० रुपैयाका दरले पुरस्कार दिने पनि निर्णय गरेको छ।

प्रमुख प्रशासकीय अधीकृत अरुण राईका अनुसार शुक्रबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले ‘कोरोना सङ्क्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्यउपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि –२०७६’ पारित गरेको छ ।

सोही कार्यविधिका आधारमा कृषकलाई  पुरस्कार दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत राईको भनाई छ। गाउँपालिकाले पुरस्कार आगामी आर्थिक वर्षमा प्रदान गर्ने छ।

कार्यविधि अनुसार एक परिवारबाट भिन्न भएर छुट्टाछुट्टै खेति गरिएको खाद्यान्नको परिमाण भने जोडन पाइने छैन। त्यसैले किसानले उत्पादन गरेकै हो भनेर प्रमाणित गर्न छुट्टै अनुगमन समिति समेत गठन गरिएको छ।

अधिकांश क्षेत्र खेतीयोग्य जमिन रहेको मिक्लाजुङमा सिँचाइकोसमेत राम्रो व्यवस्था छ। खेतीयोग्य जमिन र सिंचाई सुविधा भएर पनि जमिन बाँझिने क्रम बढ्दै गएकाले गाउँपालिकाले प्रोत्साहनको व्ययवस्था गरेको हो।

गाउँपालिकाले खाद्यान्न प्रयोग गरी मदिराजन्य पदार्थ उत्पादन गर्न भने रोक लगाएको छ। गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादनका लागि खाद्यवस्तु बिक्री नगर्न स्थानीयवासी तथा व्यवसायीमा आह्वानसमेत गरेको छ।