खगोलशास्त्रीहरू बृहस्पति ग्रहको ‘असाधारण’ नयाँ तस्वीर खिच्न सफल

खगोलशास्त्रीहरू बृहस्पति ग्रहको ‘असाधारण’ नयाँ तस्वीर खिच्न सफल
शनिबार, जेष्ठ ३, २०७७

एजेन्सी- खगोलशास्त्रीहरू बृहस्पति ग्रहको असाधारण नयाँ तस्वीर खिच्न सफल भएका छन्। तस्वीरमा ग्यासले बनेको यो विशाल ग्रहको बादलको सतहमुनि रहेको प्रकाशको चमक समेत देखिएको छ।

उक्त तस्वीर संयुक्त राज्य अमेरिकाको हवाईस्थित जेमनाइ नर्थ टेलिकोस्पले इन्फ्रारेड किरणमा खिचेको हो। पृथ्वीबाट लिइएको यो अहिलेसम्मकै सबभन्दा स्पष्ट तस्वीर भएको बताइएको छ ।

त्यस्तो स्पष्ट तस्वीर खिच्न वैज्ञानिकहरूले “लक्की इमेजिङ” भन्ने प्रविधि प्रयोग गरेका थिए। जसले पृथ्वीको हलचलयुक्त वायुमण्डलका कारण तस्वीर धमिलो तुल्याउने प्रभाव हटाइदिएको थियो।

यो उपायबाट एकै पटक थुप्रै तस्वीरहरू खिचिन्छ र हलचल असाध्यै कम भएका तस्वीरहरू मात्र निकालिन्छ। जब सबै तस्वीरहरू एक ठाउँमा राखेर राम्रो राम्रो अंशहरू जोडेर नयाँ तस्वीर बनाइन्छ, त्यस्तो तस्वीर एक पटक खिचिएको तस्वीरभन्दा निकै पृथक हुन्छ।

बृहस्पतिको वायुमण्डलमाथि रहेको पातलो बादल र तुवाँलोभित्र इन्फ्रारेड किरणमा हबल जस्तो टेलिस्कोपले तस्वीर खिच्दा वैज्ञानिकहरूलाई उक्त ग्रहको भित्री भागसम्मको दृष्य उपलब्ध गराउन सक्छ।