कोरोना सन्त्रासकाबीच बुन्डेसलिगा शुरु, शनिबारको खेलमा डर्टमन्डको शानदार जित

कोरोना सन्त्रासकाबीच बुन्डेसलिगा शुरु, शनिबारको खेलमा डर्टमन्डको शानदार जित
आइतवार, जेष्ठ ४, २०७७

एजेन्सी — कोरोना भाइरस संक्रमणको महामारीबीच जर्मनी शनिबारबाट बुन्डेस लिगाका खेल शुरु भएका छन् ।

शनिबार राति बुन्डेसलिगामा पाँच खेल भए ।  ती खेलमध्ये बोर्सिया डर्टमन्डले सबैभन्दा महत्त्वपूर्ण जित निकाल्न सफल रह्यो ।

उसले साल्कालाई ४–० ले हरायो र लिग उपाधिको होडमा आफ्नो सम्भावना जीवन्त राख्न सफल रह्यो । यो जितपछि डर्टमन्डले शीर्ष स्थानको बायर्न म्युनिखसँगको दूरी १ अंकमा छोट्याएको छ ।

डर्टमन्डले त्यस जितमा इर्लिङ ब्रट हल्यान्डले गोलको खाता खोलेका थिए । तेस्रो स्थानमा रहेको लेपजिपले भने फ्रेइबर्गसँग १–१ को बराबरी खेल्यो । बायर्नको ५५ अंक छ । यस्तै डर्टमन्डको ५४ र लेपजिपको ५१ अंक भएको छ । अन्य खेलमा हर्था बर्लिनले होफनहायमलाई ३–० ले पराजित गर्‍यो । यस्तै उल्भबर्गले असबर्गलाई २–१ हरायो भने फर्टना डुसेलडर्फ र पाडेरबर्गले गोलरहित बराबरी खेलेका छन् ।