दैनिक ६ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने सरकारी तयारी

दैनिक ६ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने सरकारी तयारी
आइतवार, जेष्ठ ४, २०७७

काठमाडौं । सरकारले बिदेशमा रहेका नेपालीहरूलाई उद्धार गर्ने तयारी गरेको छ ।

आइतबार बसेको उच्च स्तरीय समन्वय समितिको सिफारिस कार्यान्वयनमा गए दैनिक ६ हजार जति नेपालीलाई स्वदेश ल्याइने छ ।

सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने गरी मन्त्रिपरिषद् बैठक सिफारिस गरेको बुझिएको छ । प्रधानमन्त्री सहमत भए आवश्यक तयारी गरेर आफ्ना नागरिकको उद्दार गर्ने समितिको तयारी छ ।

उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार नेपालीलाई ल्याउने प्रस्ताव पेस गरेको छ ।

यसरी उद्दार गरेर ल्याइनेहरुलाई केहीदिन उनीहरुकै खर्चमै क्वारेन्टाइनमा राखिनेछ । त्यसपछि उनीहरूलाई सम्बन्धित स्थानीय तहमा पठाइने गरीको खाका तयार गरिएको छ ।

विदेशमा रहेका नेपालीको उद्धार नुहदा सरकारको आलोचना भइरहेको थियो । यसअघि सगरमाथा टेलिभिजनसँग शनिबार कुराकानी गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले पनि विदेशमा रहेका नेपालीलाई जतिसक्दो चाडो उद्धार गरिने तयारी भएको जानकारी दिएका थिए ।

उनका अनुसार भारतबाट मात्रै करिव ५ देखि ७ लाखसम्म नेपालीहरू स्वदेश फर्कनेछन् ।