अमेरिकन आइडलको फाइनलमा पुगे दिवेश पोखरेल

अमेरिकन आइडलको फाइनलमा पुगे दिवेश पोखरेल
सोमवार, जेष्ठ ५, २०७७

काठमाडौं- नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको फाइनल अर्थात् शीर्ष ५ मा पुगेका छन् ।

न्यूयोर्कको समय अनुसार बेलुका ७ बजेको कार्यक्रम सुरु भएलगत्तै अमेरिकन आइडलको शीर्ष पाँचको घोषणा गरिएको हो ।

दिवेशलाई अब अमेरिकन आइडल बन्नका लागि भोटिङको खाँचो छ । आजको भोटिङ रियल टाइम भोटिङ हो जुन सुरु भइसकेको छ ।

भोटिङ टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सकिन्छ । दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ ।

त्यसघि ११ जनाबाट उनी उत्कृष्ट ७ मा छानिएको थिए । कोरोनाको महामारीका कारण अमेरिकन आइडलले भर्चुअल प्रस्तुति गर्दै आएको छ ।

दिवेशले केही समय अगाडि नेपाली भाषामा बोल्दै भोट अपिल गरेका थिए । उनी काठमाडौं रविभवनका हुन् । अमेरिकन आइडलको जारी १८ औं संस्करणमा लुक ब्रायन, केटी पेरी र लिओनेल रिची निर्णायक छन् ।

२० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी आफैं गीत रचना, संगीत तथा गाउने गर्छन् । उनले आफ्ना गीत तथा सिर्जना आफ्नै यु–ट्युब च्यानल आर्थर गनमार्फत सार्वजनिक गर्दै आएका छन् ।