गुल्मीका कोरोना संक्रमितको उपचार भएको अर्घाखाँचीको पोलिक्लिनिक सिल

गुल्मीका कोरोना संक्रमितको उपचार भएको अर्घाखाँचीको पोलिक्लिनिक सिल
सोमवार, जेष्ठ ५, २०७७

गणेश खनाल । अर्घाखाँची । गुल्मीका कोरोना संक्रमित उपचारका लागि गएको अर्घाखाँचीको सन्धिखर्कको छायाँ पोलिक्लिनिक स्थानीय सिल गरेको छ ।

गुल्मीका ४१ वर्षका पुरुष उपचारका लागि अर्घाखाँची सदरमुकाम सन्धिखर्कको छायाँ पोलिक्लिनिकमा पुगेको र त्यहाँबाट बुटबल रिफर गरेको पाइएपछि प्रशासनले सिल गरेको हो । त्यहाँ कार्यरत चिकित्सिक तथा स्वास्थ्यकर्मीको पिसिआर विधिबाट परीक्षण गर्ने र गत जेठ १ गतेदेखि ५ गतेसम्म उपचारका लागि आएका सबै स्थानीयको विवरण संकलन गरेर परीक्षण गर्ने तयारी समेत शुरु गरिएको छ ।

यता गुल्मी जिल्ला प्रशासन कार्यालयले भने गुल्मीका स्थानीयमा कोरोना संक्रमण देखिएपछि पहिचानको काम शुरु भएको जनाएको छ । कोरोना संक्रमितको पहिचान गरेर कन्ट्याक्ट ट्रेसिङको काम शुरु गर्ने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

सोमबार संक्रमण देखिएका गुल्मीका उनी एक विद्यालयका प्रधानाध्यापक रहेको पाइएको छ । उनी केहीदिन पहिले देखिनै बिरामी रहेको र ज्वरो आएपछि घरमै रहेका उनी थप उपचारका लागि बैशाख ३१ गते आफन्तसँग मोटरसाइकलमा अर्घाखाँचीको सन्धीखर्क गएका थिए ।

अस्पतालले उनलाई ३१ गते राति नै एम्बुलेन्समा बुटवल रेफर गरेको थियो । अहिले प्रधानाध्यापकको घर सील गर्ने तयारी भइरहेको छ । उनको सम्पर्कमा धेरै जना रहेकाले तत्काल परीक्षणको व्यवस्था गर्न लागिएको छ । गुल्मीमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।