तनहुँमा संक्रमण फैलन नदिन उच्च सतर्कता

तनहुँमा संक्रमण फैलन नदिन उच्च सतर्कता
बुधबार, जेष्ठ ७, २०७७

नारायण खडका

तनहुँ –  नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या वृद्धिभएसंगै तनहुँमा सतर्कता बढाइएको छ । जिल्लामा अहिलेसम्म संक्रमण नदेखिएको र लुकिछिपी मानिसहरु आवतजावत गर्ने क्रम नरोकिएकाले संक्रमणको उच्च जोखिम देखिएको भन्दै जिल्लाका १० वटै स्थानीय तहले उच्च सतर्कता अपनाउन थालेका छन् ।

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा जिल्ला समन्वय समिति तनहुँको समन्वयमा १० वटै स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुखहरुहरुले जिल्लालाई कोरोना संक्रमण मुक्त बनाउन जिल्ला प्रवेश गर्ने नाकाहरुमा थप कडाई गर्ने निर्णय गरेका छन् । तनहुँलाई थप सुरक्षित बनाउनका लागि जिल्ला प्रवेश गर्ने चार वटा नाकालाई क्लष्टरमा विभाजन गरिएको छ । जिल्ला प्रवेश गराउने विषयलाई थप व्यवस्थित र तथ्याङ्कलाई अध्यावधिक गरी कडाइ गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताउनु भयाे ।

नवलपुर र पाल्पाबाट जिल्ला प्रवेश गर्ने नाकालाई ऋषिङ र घिरिङ गाउँपालिका तथा भिमाद नगरपालिकाले व्यवस्थित गर्ने छन् भने कास्की जिल्ला तर्फका नाकाबाट प्रवेश गर्नेलाई व्यवस्थित गर्न शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई जिम्मेवारी तोकिएको छ । यस्तै, बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले संयुक्त रुपमा मुग्लिन नाकाका साथै गोरखा, लमजुङ जिल्लाबाट जिल्ला प्रवेश गर्ने नाकाहरुलाई आवश्यक व्यवस्थापनको जिम्मेवारी तोकिएको छ । लकडाउनको समयअवधिमा भारतीय सिमाक्षेत्रमा रहेका तथा बाहिरी जिल्लाबाट उद्धार गरी ल्याइएका ६५ जनालाई स्थानीय तहले तयार गरेका क्वारेन्टिनमा राखिएको छ । यसरी उद्धार गरी ल्याइएकाहरु मध्ये २५ जनाको कोभिड–१९ संक्रमण परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको  जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ  ।

जिल्लाको व्यास नगरपालिकामा २९, भानु नगरपालिकामा ९, आँबुखैरेनी गाउँपालिकामा २, देवघाट गाउँपालिकामा ३, घिरिङ गाउँपालिकामा १५, म्याग्दे गाउँपालिकामा ३, बन्दीपुर गाउँपालिकामा २, रिसिङ गाउँपालिकामा २ जना गरी ६५ जनालाई क्वारेन्टिनमा राखिएको छ । भारत लगायत बाहिरी जिल्लाबाट चैत्र १ गतेयता ९११ जना जिल्ला फर्किएका छन् ।