‘अम्फुन’ चक्रवात : भारत र बंगलादेशमा वितण्डा (फोटो फिचर)

‘अम्फुन’ चक्रवात : भारत र बंगलादेशमा वितण्डा (फोटो फिचर)
बिहिबार, जेष्ठ ८, २०७७

काठमाडौं-बंगालको खाडीबाट शुरु भएको अम्फुन चक्रवातका कारण भारत र बंगलादेशमा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

चक्रवातको प्रभावले भारतको कोलकता, पश्चिम बंगालसहित बंगलादेशमा भीषण वर्षासहितको ठूलो हावाहुरी चलेको जनाइएको छ । उक्त चक्रावतले दुबै मुलुकमा गरी १६ जनाको मृत्यु भएको उल्लेख भए पनि कहाँ कति भन्ने खुलाइएको छैन ।

ठूलो हावाहुरीका कारण रुखहरु उखेलिएका छन् भने हजारौं घरका छाना उडाएको तथा ठाउँरठाउँमा घर नै भत्किएको जनाइएको छ ।

चक्रवातको प्रभावले भारत र बंगलादेशका तटीय क्षेत्रबाट विस्थापित भएका करिव ३० लाख मानिसहरूलाई प्रभावित बनेको जनाइएको छ ।बंगालको खाडीमा हरेक वर्ष यस प्रकारको आँधी आउने गरेको छ ।

आंध्र प्रदेश, ओडिशा, पश्चिम बंगाल र बांग्लादेशमा यस्ता आँधीले प्रभाव पार्दै आएको छ । सन २००७ मा सिद्र तूफानका कारण बंगलादेशमा ३ हजार ५ सय भन्दा बढीको मृत्यु भएको थियो ।

त्यस्तै सन १९९९ मा ओडिशामा सुपर साइक्लोन आँधीका कारण १० हजार भन्दा बढीको मृत्यु भएको थियो ।