काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न गृहमन्त्रालयको परिपत्र

काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न गृहमन्त्रालयको परिपत्र
बिहिबार, जेष्ठ ८, २०७७

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न गर्न गृहमन्त्रालयको परिपत्र गरेको छ । लकडाउन उल्लंघनका घटना बढेसँगै गृहमन्त्रालयले अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्न परिपत्र गरेको हो ।

जेठ १ गते उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो । यो सँगै अब उपत्यका प्रवेशमा थप कडाई हुने भएको छ । गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ ।

‘नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाडौँ उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य संभाव्य स्थलहरुलाई क्वारेन्टायन बस्ने व्यक्ति स्वयंमले क्वारेनटायन खर्च भुक्तानी गर्ने गरी स्म्भावित क्वारेन्टाइन प्रयोजनका लागि लागन संकलनर अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने,’ पत्रमा भनिएको छ, ‘काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफने खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाडौँ उपतयका प्रवेश अनुमतिका लागि माग गर्ने ।’

पत्रमा काठमाडौँ उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नु पूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्ने पनि उल्लेख छ ।