अरनिको र विपि राजमार्ग पुर्णरुपमा बन्द

अरनिको र विपि राजमार्ग पुर्णरुपमा बन्द
बिहिबार, जेष्ठ ८, २०७७

काभ्रे । कोरोना भाइरका कारण धुलिखेल अस्पतालमा छिमेकी जिल्ला सिन्धुपाल्चोककी महिलाको मृत्यु भएपछि काभ्रेपलाञ्चोक जिल्लाभर उच्च सर्तकता अपनाइएको छ । काठमाडौ उपत्यकासंगै जोडिएको काभ्रे जिल्ला पूर्वको महत्वपूर्ण नाकासमेत भएकाले आवतजावत बढि हुने र जोखिम पनि बढि हुने भन्दै अहिले राजमार्गसमेत बन्द गरेर जिल्ला सिल गरिएको हो ।

त्यसोत, झण्डै दुइमहिना लडकडाउनमै गुजारेका काभ्रेबासीलाइ सिन्धुपलाञ्चोकी २९ वर्षीया सुत्केरीको कोभिड १९ का कारण निधन भएपछि असुरक्षाको त्रास बढेको छ । आममानिसले नै असुरक्षीत महसुस गर्न थालेपछि जिल्लाहुँदै पार हुने अरनिको राजमार्ग र वीपी राजमार्गसहित बन्द गरेर जिल्ला सिल गरिएको छ । काठमाडौं उपत्यकाको पूर्वी नाका पनि भएकाले थप समस्या नआओस् भनेर जिल्ला पुरै सिल गरिएको हो ।

खासगरी पूवी तराइ र पूर्वी पहाडबाट भित्रने सवारी विपि राजमार्ग हुँदै आउने भएकाले अहिले सवारी आवागमन बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कमाण्ड पोष्टले लकडाउनलाई प्रभावकारी बनाउन नाकामा विशेष निगरानी गरिरहेका छन् ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार जिल्लाका सुरक्षा निकाय, स्वास्थ्य कार्यालये, सबै स्थानीयतह, राजनीतिकदल, उद्योगी व्यवसायी, यातायात व्यवसायी, संचारकर्मी, विभिन्न संघसंस्था सबैको एकीकृत प्रयासमा जिल्लालाई सुरक्षित बनाउने प्रयास गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कसैलाई पनि स्वास्थ्य सम्बन्धी समस्या आएमा एम्बुलेन्सबाट प्रभावकारी सेवा प्रदान गर्न एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । जिल्लाभर ३५ वटा एम्बुलेन्स परिचालिन छन् । जिपिएस जडान पछि एम्बुलेन्सको लोकेसन टे«स जिल्ला स्वास्थ्य कार्यालयले नै गर्दै आवश्यक निर्देशन समेत दिने गरेको काभ्रेपलाञ्चोक जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नगेन्द्र झा ले बताए ।

भारत लगायत अन्य देशबाट जिल्लामा आएका व्यक्तिहरुको विवरण सम्बन्धित स्थानीय तहबाट अद्यावधिक गर्ने तयारी भएको छ । त्यसरी विवरण संकलन गरिएकाहरुको स्थानीय तहकै प्राथमिक स्वास्थ्य केन्द्रमा आरडिटी परिक्षण गर्ने र आरडिटीमा पोजेटिभ देखिएमा तत्काल पिसिआर परिक्षणका लागि धुलिखेल अस्पताल पठाउने ब्यवस्था मिलाइएको छ ।

काभ्रेमा हालसम्म एकजना पनि कोरोना संक्रमित भेटिएका छैनन् । लकडाउनका कारण दैनिक खानपानमा समस्या भएका परिवारहरुलाई राहत वितरण गरिएको बताइएको छ ।

न्युन आय भएका, दैनिक ज्यालादारीमा काम गर्ने घरपरिवारहरुलाई हालसम्म जिल्लाका स्थानीय तहहरुबाट २१ हजार बढि परिवारलाई प्याकेजमा राहत वितरण गरिएको छ ।