भारतबाट नेपाल भित्रने बढेसँगै कारोना भाइरसको त्रास पनि बढ्दो

भारतबाट नेपाल भित्रने बढेसँगै कारोना भाइरसको त्रास पनि बढ्दो
शुक्रबार, जेष्ठ ९, २०७७

दैलेख- लकडाउनको ५६ औँ दिनपछि दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो ।

सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका उनलाई भारतबाट उद्धार गरी ल्याइएको थियो । ती व्यक्तिमा कोरोना पुष्टि हुँदा उद्धार गरी ल्याइएका कति व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण छ भन्ने सबैको पिसिआर परीक्षण गरी नसक्दा सर्वसाधारण त्रसित बनिरहेको अवस्था छ ।

अहिले दिनहुँ सयौँ व्यक्तिलाई धमाधम उद्धार गरी कर्णाली प्रदेशमा भित्र्याउने काम तीव्रगतिमा भइरहेको छ । बिहीबार मात्र भारतको रूपडिया नाकाबाट आएका एक हजार ६७२ मध्ये दैलेखका ७२७ जना छन् ।

दैलेखका कोरोना सङ्क्रमित ती युवक कर्णाली प्रदेशकै पहिलो भएको पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नुपूर्व सयौँ व्यक्ति दैनिक आएका छन् ।

त्यस्तै दिनहुँ सयौँ व्यक्तिलाई उद्धार गरी ल्याउने क्रम रोकिएको छैन । भारतबाट पछिल्लो समय ल्याइएका व्यक्तिमा कोरोना पुष्टि हुँदा पनि सङ्क्रमण फैलिन नदिन कुनै ठोस सावधानी नअपनाइँदा सर्वसाधारणमा त्रास फैलिरहेको छ ।