भारतबाट नेपाल फर्किने क्रम बढेसँगै कोरोना भाइरस परीक्षणका लागि किट अभाव

भारतबाट नेपाल फर्किने क्रम बढेसँगै कोरोना भाइरस परीक्षणका लागि किट अभाव
शुक्रबार, जेष्ठ ९, २०७७

सिरहा । भारतबाट दैनिक नेपाली स्वदेश फर्किने क्रम बढेसँगै कोरोना भाइरसको परीक्षणका लागि आवश्यक आरडिटी र पिसिआर किटको अभाव भएको छ ।

अहिलेसम्म जिल्लामा एकजनामा मात्र सङ्क्रमण पुष्टि भएको छ । “भारतबाट स्वदेश फर्कन सीमा क्षेत्रमा आउने गरेका छन्”, बरियारपट्टि गाउँपालिकाका अध्यक्ष सन्तोष मेहताले भने, “दैनिक सीमा क्षेत्रमा आइपुगेकालाई क्वारेन्टिनमा ल्याएर राख्छौं तर किटको अभावमा कोरोना जाँच नहुँदा समस्यामा परेका छौँ ।” क्वारेन्टिनमा बसेकालाई खाने तथा बस्नेलगायत सबै व्यवस्था क्वारेन्टिनमा मिलाइए पनि किटकै अभावमा जाँच गर्न नसक्दा स्थानीयवासीबाट समेत चिन्ता र दबाब आउने गरेको उनको दुखेसो छ ।

“सीमा क्षेत्रबाट हिजोसम्म ७४ जनालाई ल्याएर गाउँपालिकाको क्वारेन्टिनमा ल्याएर राख्यौँ”, उनले भने, “तर जाँचै नगरी ३४जनालाई औरही गाउँपालिका र २४ जनालाई लक्ष्मीपुर पतारी पठाएका छौँ ।” जिल्ला स्वास्थ्य कार्यालयसँग किट माग गर्दै आए पनि अहिलेसम्म उपलब्ध नभएकाले समस्यामा परेको उनको भनाइ छ ।

स्वदेश फर्किनेलाई जिल्लाको विभिन्न मुख्य नाकामा रहेका क्वारेन्टिनमा राख्ने गरिए पनि आरडिटी किट नहुँदा कोरोना परीक्षण गर्न कठिनाइ भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बिष्णुदेव यादवले जानकारी दिए।