नेपाली सेनाका तीन अधिकृत भ्रष्टाचारको आरोपमा दोषी ठहर

नेपाली सेनाका तीन अधिकृत भ्रष्टाचारको आरोपमा दोषी ठहर
शनिबार, जेष्ठ १०, २०७७

काठमाडौं । नेपाली सेनाका महासेनानी (कर्नेल) भूपालमान अधिकारी सहित तीन अधिकृत भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन् ।
नेपाली सेनाको समरी जनरल अदालतले कर्नेल अधिकारी सहित तीन जना अधिकृतलाई सैनिक आवासीय महाविद्यालय भक्तपुरमा रहँदा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गरेको हो ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, नेपाली सेनाको कर्नेल अधिकारीलाई दुई महिना कैद र भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय भएको छ । फैसला अनुसार, उनिबाट एक करोड ८५ लाख ४० हजार एक सय ८ रुपैयाँ एघार पैसा असुल गरिनेछ । त्यस्तै भ्रष्टाचार आरोप लागेका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) देवबहादुर क्षेत्रीको २ वर्ष बढुवा रोक्का हुने भएको छ । सैनिक अदालतले क्षेत्रीबाट ४ लाख ४० हजार रूपैयाँ असुल उपर गराउने फैसला गरेको छ ।
त्यस्तै हुद्धा योग्यराज पोखरेललाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सैनिक सेवाबाट हटाइएको छ भने उनीबाट ३ लाख ६० हजार रूपैयाँ असुल उपर गर्ने फैसला भएको छ । अर्का हुद्धा गणेशबहादुर अधिकारीलाई दुई वर्ष ग्रेड रोक्का गर्ने र उनीबाट दस हजार रूपैयाँ असुल उपर गर्ने फैसला भएको छ । लेखातर्फका सह सेनानी सुरेन्द्र विक्रम भण्डारीलाई नसिहत दिने फैसला भएको छ । अन्य १३ जनाले भने अभियोगबाट सफाइ पाएका छन् ।