भारतबाट फर्किने नेपालीको चाप बढेपछि गड्डाचौकी नाका खोलिने

भारतबाट फर्किने नेपालीको चाप बढेपछि गड्डाचौकी नाका खोलिने
सोमवार, जेष्ठ १२, २०७७

काठमाडौं। भारतबाट फर्किने नेपालीको चाप बढेपछि गड्डाचौकी नाका खोलिने भएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समिति, कञ्चनपुरको बैठकले सोमबारदेखि गड्डाचौकी नाका खोलेर भारतबाट फर्किएका मजदुरलाई सुरक्षित रूपमा घर पठाउने निर्णय गरेको हो ।

भारतमा लकडाउन केही खुकुलो भएसंगै स्वदेश फर्किने नेपालीको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

जेठ १ देखि जेठ ११सम्म लुकीछिपी दुई हजार ४१ जना कञ्चनपुर पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । लुकीछिपी नेपाल आउनेहरूको स्वास्थ्य परीक्षण गर्न सम्भव नभएका कारण गड्डाचौकी नाकाबाटै व्यवस्थित रूपमा भित्र्याएर स्वास्थ्य परीक्षण गरिने बताइएको छ।

उनीहरुलाई सोमबार दिउँसो १२ देखि साँझ ६ बजेसम्म नेपाल प्रवेश गराइने छ ।

कञ्चनपुरमा सोमबारदेखि भने लकडाउन कडाइ गरिने भएको छ । विदेशबाट आउने बढेकाले लकडाउन कडाइ गर्नुपरेको जनाइएको छ । स्वास्थ्य संस्था र औषधि पसलबाहेक अरू बन्द गरिने र यसका लागि प्रहरी परिचालन गरिने कञ्चनपुरका प्रहरी प्रवत्ता रवीन्द्र पौडेलले बताएका छन् ।