आज ईद–उल–फित्र, काठमाडौं लगाएत देशभरका मस्जिद सुनसान

आज ईद–उल–फित्र, काठमाडौं लगाएत देशभरका मस्जिद सुनसान
सोमवार, जेष्ठ १२, २०७७

काठमाडौ । रमजान महिना सकिएको दिन इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल–फित्र मनाउँदै छन् ।

अरबी पात्रो हिजरी सम्बत अनुसार दशौं महिनाको पहिलो दिन अर्थात रमजान महिना सकिएको दिन आज मुस्लिम समुदायले विशेष नमाज (प्रार्थना) पढी ईद–उल–फित्र मनाउने गर्दछन् ।

अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलीपल्ट ईद–उल–फित्र मनाउने गरिन्छ ।

ईदमा विशेष नमाज अदा गरिसकेपछि आफुभन्दा ठूलाबडाबाट आर्शिर्वाद लिने र आफुभन्दा सानालाई आर्शिवाद दिने गरिन्छ ।

ईदका दिन इस्लाम धर्मावलम्बीहरुले मस्जिद तथा ईदगाहमा भेला भई सामूहिक रुपमा नमाज आदा गर्ने परम्परा रहेको छ ।

यसवर्ष भने कोरोना भाइरस रोकथामका लागि लकडाउन जारी रहेपछि मस्जिदमा सामूहिक रुपमा नमाज आदा नगर्न मुस्लिम आयोगले आग्रह गरेको छ ।

मस्जिदमा गई समूहमा नमाज आदा गर्न नपाएपछि घरमै परिवारका सदस्यबीच नमाज आदा गरेर ईद–उल–फित्र मनाउँदैछन् । त्यसैले ईदका दिन काठमाडौंमा रहेका दुई मस्जिद पनि सुनसान देखिए ।

मस्जिदमा रहेका धर्मगुरु र कर्मचारीले मात्र प्रार्थना गरेका छन् । सरकारले ईदको अवसरमा आज देशभर सार्वजनिक विदा दिएको छ ।