कोरोना संक्रमितका लागि धनगढीमा छुट्टै आइसोलेसन वार्ड निर्माण

कोरोना संक्रमितका लागि धनगढीमा छुट्टै आइसोलेसन वार्ड निर्माण
सोमवार, जेष्ठ १२, २०७७

कैलाली । कोरोना संक्रमित र शंकास्पद बिरामीको उपचारका लागि धनगढीमा छुट्टै आइसोलेसन वार्ड निर्माण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले ९४ लाख रुपैयाँको लागतमा वडा प्रहरी कार्यालय नजिक ५० शैयाको आइसोलेसन वार्ड निर्माण गरेको हो ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले नवनिर्मित वार्डलाई सोमबार सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्नुभएको छ ।

प्रदेश सरकारले सेती अस्पताललाई कोरोना उपचार विशेष अस्पताल तोकेको छ । अब संक्रमित र आइसोलेसनमा राखिएका बिरामीलाई नयाँ वार्डमा सारेर उपचार गरिने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेले बताउनुभयो ।

वार्ड अभावमा कोरोना संक्रमितको उपचारमा समस्या हुनुका साथै अन्य बिरामीमा समेत संक्रमण फैलने जोखिम बढेको थियो । अब छुट्टै भवनमा उपचार गर्न थालेपछि सहज हुने पाण्डेले बताउनु भयो । सेती अस्प्तालमा आइसोलेसनमा रहेका संक्रमित र शंकास्पद बिरामीलाई नयाँ वार्डमा सारिने छ ।

सेती अस्पतालमा हाल पाँच जना कोरोना संक्रमित र दुई जना शंकास्पद बिरामीको उपचार भइरहेको छ । प्रिफेबको प्रयोग गरेर एकमहिनाको अवधिमा आइसोलेसन वार्ड निमार्ण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो ।

प्रदेशमा कोरोनाको जोखिम बढ्दै गएकाले छुट्टै अस्पताल बनाउने योजना अन्ुसार कैलाली र कञ्चनपुरमा कोरोना अस्पताल बनाउन शुरु गरिएको सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले बताउनुभयो ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नव निर्मित भवनबाट स्वास्थ्यकर्मीलाई आवश्यक सेवा दिने मन्त्री सुवेदीको भनाई छ ।