रुपन्देहीमा भारतबाट आएर क्वारेन्टाईनमा बस्नेको संख्या झण्डै १० हजार पुग्यो, ब्यबस्थापनमा समस्या

रुपन्देहीमा भारतबाट आएर क्वारेन्टाईनमा बस्नेको संख्या झण्डै १० हजार पुग्यो, ब्यबस्थापनमा समस्या
सोमवार, जेष्ठ १२, २०७७

रुपन्देही । रुपन्देहीमा भारतबाट आएर क्वारेन्टाईनमा बस्नेको संख्या झण्डै १० हजार पुगेको छ ।

जिल्लाका १६ स्थानीय तहमा बनाइएका ६५ वटा क्वारेन्टाईनमा रहेका मानिसहरुको संख्या आजसम्म ९ हजार ८ सय २५ पुगेको हो ।

हरेक क्वारेन्टाइनमा कम्तिमा ८० देखि ३ सयजनासम्मलाई राखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार यो संख्या समग्र नेपालकै क्वारेन्टाइनको झण्डै २५ प्रतिशत हो । नेपालका सातवटै प्रदेशमा क्वारेन्टाईनमा बस्नेहरुको कुल संख्या जम्मा ४० हजार ९७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतबाट बेलहिया लगायतका नाका हँुदै नेपाल आउने र लुकिछिपी प्रबेश गर्ने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गएपछि रुपन्देहीमा क्वारेन्टाईनको ब्यबस्थापनमा समस्या भएको छ ।

भारतमा लकडाउन खुकुलो बनाउदै सार्वजनिक यातायात संचालन गरिएपछि नेपाल आउने प्रवासीहरुको संख्या बडेको छ ।

लकडाउन शुरु भएयता भारतबाट रुपन्देहीका बेलहिया लगाएत बिभिन्न नाका हुँदै नेपाल आउनेहरुको संख्या २६ हजार नाघिसकेको छ । क्वारेन्टाईनमा २ देखि ३ हप्ता पुरागरि घर फर्कनेको संख्या ६ हजार भन्दा बढि रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।