भारतबाट आउनेलाई सीमानामा मात्र ज्वरो जाँच गरेर पठाइँदै, एकै दिन भित्रिए ५ हजार

भारतबाट आउनेलाई सीमानामा मात्र ज्वरो जाँच गरेर पठाइँदै, एकै दिन भित्रिए ५ हजार
मङ्लबार, जेष्ठ १३, २०७७

महेन्द्रनगर- भारतीय सीमा क्षेत्रमा अलपत्र नेपालीहरु धमाधम नेपाल प्रवेश गर्न थालेका छन् । सोमबार मात्र सुदूरपश्चिमका नाकाबाट ५ हजार बढी नेपाली नागरिक भित्रएका छन् ।

भारतमा रेल संचालन भएपछि सीमा क्षेत्रमा आउनेको संख्या बढेसँगै सीमा पार गर्नेको चाप पनि बढेको हो । झन्डै दुई महिना लामो लकडाउनमा रोकिएका नेपालीलाई अहिले भने सरकारले बिना कोरोना परीक्षण ज्वरो नापेको भरमा प्रवेश गर्न दिएको छ ।

नेपाल प्रवेश पाउन थालेपछि भारतमा अलपत्र नेपाली नागरिकहरुको आउने क्रम पनि बढेको छ । कञ्चनपुरको महेन्द्रनगर नजिकको नाका गड्डाचौकीबाट झन्डै ३ हजार र कैलालीको धनगढी नजिकको नाका गौरीफन्टाबाट २२ सय जना भित्रिएका छन् । उनीहरुको सामान्य ज्वरोमात्र नापिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन । उनीहरु सिधै आआफ्ना घर गएका छन् ।

यो एक सातामा मात्रै गौरीफन्टा नाकाबाट १० हजार जना नेपाली घर फर्किएका छन् । सरकारले देश फर्किनेको परीक्षण गरेर क्वारेन्टाइनमा बस्ने गरी ल्याउने भने पनि उनीहरुको सामान्य ज्वरो मात्रै नाप गरिएको छ । अन्य परीक्षण गरिएको छैन ।