जाजरकोट घटनाबारे प्रतिनिधिसभामा चर्काचर्की, दोषी बचाउन खोजेको कांग्रेसको आरोप

जाजरकोट घटनाबारे प्रतिनिधिसभामा चर्काचर्की, दोषी बचाउन खोजेको कांग्रेसको आरोप
मङ्लबार, जेष्ठ १३, २०७७

काठमाडौं । सांसदहरुले रुकुम चौरजहारीको घटनामा पुर्व गृहमन्त्री जनार्दन शर्मा नै पीडकको पक्ष लिएर राजनीतिक पहुँचको आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा लागेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सत्तारुढ दलका सांसद जनार्दन शर्माले छुवाछुतको घटनामा राजनीतिकरण हुन सक्दैन भन्ने अभिव्यक्ति दिएपछि सांसदहरुले आपत्ति जनाउदै सांसद शर्माले घटनाका दोषीलाई जोगाउने षडयन्त्र गरेको आरोप लगाएका हुन् ।

सांसद शर्मा बोल्दै गर्दा प्रतिपक्षी दलका सांसद तथा अन्य दलित सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसक्रममा सांसद शर्मा र अन्य सांसदहरुबीच भनाभन नै चलेको थियो ।

सभामुखले सबै सांसदलाई सम्हालिन आग्रह्र गर्दा पनि दुवै तर्फबाट भएको भनाभन रोकिएको थिएन । विपक्षी सांसद लगायत दलित सांसदरुले सांसद जनार्दन शर्मालाई बोल्न रोकेपछि उहाँले आक्रोश पोखे ।

सांसद शर्माले छुवाछुत सम्बन्धी घटनाहरुमा राजनीतिकरण हुन नहुने भन्दै रुकुम चौरजहारी घटनाको सत्य तथ्य छानविनका लागि जाजरकोट र रुकुम जिल्ला प्रशासन लागिपरेको बताएपछि गृहमन्त्रीले दिने जस्तो जवाफ दिएको भन्दै कांग्रेसका सांसदहरुले पुनः आपत्ती जनाएका थिए ।

नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले पुर्व गृहमन्त्री र वहालवाला गृहमन्त्री मिलेर घटनामा संलग्नलाई जोगाउने षडयन्त्र गरेको आरोप लगाए ।

यसअघि बैठकको सुरुमै बोल्नु भएका सांसद सांसद मिनबहादुर विश्वकर्माले घटनामा राजनीतिककरण भएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका थिए ।

सांसद विश्वकर्माले राजनीतिक दबाब र प्रभावमा जिल्ला प्रशासन कार्यालय परेको भन्दै घटनामा संलग्न भनी पक्राउ गरेका मानिसलाई राजनीतिक पहुँचको आधारमा छोड्ने काम नगर्न सरकारको ध्याननाकर्षण गराए ।

सांसद पार्वती कुमारी विशुन्केले कानुन बनेर व्यवस्था परिर्वतन भएपनि जातीय विभेदको बर्बरताको अन्त्य हुन नसकेको भन्दै त्यसको अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराए ।

प्रेमलाई बैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने सपना बोकेर प्रेमिका लिन पुगेका जाजरकोटका नवराज विक सहित ३ जनाले ज्यान गुमाएको तथा अन्य ३ जना अझै वेपत्ता भएको भन्दै जातका कारणले मारिने क्रम कहिले सम्म हो ? भनी प्रश्न गरे ।