कोरोना प्रभावः चालु आर्थिक वर्षमा २ दशमलव ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान

कोरोना प्रभावः चालु आर्थिक वर्षमा २ दशमलव ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान
मङ्लबार, जेष्ठ १३, २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्रमा पारेको प्रभावले चालु आर्थिक वर्षमा २ दशमलव ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान सरकारले गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभामा आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत हुने अनुमान गरिएको बताए ।

सरकारले यस वर्षको बजेटमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । तर चैत पछि कोरोना नियन्त्रणका लागि लकडाउन गरिएपछि अर्थतन्त्रमा असर परेको र यसले आर्थिक वृद्धिदरमा गम्भिर असर पारेको अर्थमन्त्री खतिवडाले बताए ।

उनले यस अघिको तीन वर्षमा आर्थिक वृद्धिदर औषत ७ प्रतिशत भन्दा माथि रहेको समेत बताए । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन प्रचलित मूल्यमा गत वर्षको तुलनामा ७ दशमलव ५ प्रतिशतले बढेर १ लाख २६ हजार १८ रुपैयाँ अर्थात अमेरिकी डलरमा १ हजार ८५ पुग्ने अनुमान पनि सरकारले गरेको छ ।

कुल उपभोग र कुल गार्हस्थ बचत कुल गार्हस्थ उत्पादनको अनुपातमा ८१ दशमलव ९ र १८ दशमलव १ प्रतिशत रहने अनुमान छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि चालिएको कदमबाट सार्वजनिक एवं निजी क्षेत्रमा आएको संकुचनले कुल लगानी गत आर्थिक वर्षको तुलनामा ३ दशमलव ४ प्रतिशतले न्युन भई १८ खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा १८ दशमलव ७ प्रतिशत रहेको निरपेक्ष गरिबी मुनिको जनसंख्या २०७६÷०७७ मा करिब १६ दशमलव ६७ प्रतिशत रहने अनुमान गरिएको छ । मुद्रास्फीति, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन लगानी र वित्तीय परिसूचकहरु आर्थिक स्थायित्व अनुकुल भएका छन् ।

निकासिमा भएको वृद्धि र पैठारीमा भएको कमीका कारण व्यापार घाटामा सुधार भई सोधानान्तर स्थिति बचतमा रहेको छ ।