सप्तरीमा दुर्घटना, दुई जनाको मृत्यु

सप्तरीमा दुर्घटना, दुई जनाको मृत्यु
सांकेतिक तस्वीर
मङ्लबार, जेष्ठ १३, २०७७

सप्तरी – सप्तरीमा भएका छुट्टा छुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

सप्तरीको खड्क नगरपालिका–६ चकुवामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको नम्बर नभएको कृषिबाट अनुदान प्राप्त पावर ट्रिलर ट्याक्टर सोमबार साँझ आफैँ अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार स्थानीय ७५ वर्षीय गुदीलाल चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारती जानकारी दिए ।

घाइते भएका उनलाई उपचारका लागि सिरहाको लहानस्थित त्रिशक्ति अस्पतालमा लगिएको भए पनि उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित जन्डोलमा सवारी साधनको ठक्करबाट पहिचान खुल्न नसकेका अन्दाजी १९ वर्षीय एक युवकको मृत्यु भएको छ ।

कालो जिन्स पाइन्ट, सेतो फुल बाहुला भएको सर्ट लगाएका र उचाइ पाँच फिट तीन इन्च तथा शरीर पातलो कालो वर्ण हेर्दा तराईवासीजस्तो देखिने युवकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।