सीमा विवाद बढेपछि भारतीय रक्षामन्त्री सिंहद्वारा तीन वटै सेना प्रमुखसँग विशेष छलफल

सीमा विवाद बढेपछि भारतीय रक्षामन्त्री सिंहद्वारा तीन वटै सेना प्रमुखसँग विशेष छलफल
मङ्लबार, जेष्ठ १३, २०७७

काठमाडौं – सीमा विवाद बढेपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले जल, थल र वायु सेनाका प्रमुखहरूसँग छलफल गरेका छन् ।

नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटर नक्सा सार्वजनिक गरेको तथा चीनले लद्दाखमा सेनाको तैनाथी बढाएपछि रक्षामन्त्री सिंहले तीन वटै सेना प्रमुखसँग विशेष छलफल गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतसहित भारतका तीनवटै सेना प्रमुखसँग रक्षामन्त्री सिंहले गरेको विशेष छलफलमा अतिक्रमित क्षेत्रमा बनाइएको सडक निर्माण जारी राख्ने निर्णय भएको आजतकले जनाएको छ ।

लद्दाख क्षेत्रमा चीनले झण्डै ५ हजारको हाराहारीमा जनमुक्ति सेना खटाएको छ भने भारतले पनि हजारौँ सैनिक सीमा रक्षाका लागि पुर्‍याएको बताइएको छ ।

सिक्किमको नाकू ला, लद्दाख र उत्तराखण्डमा भारत र चीनबीच टकरावको स्थिति बनेको छ । सोमबारमात्रै चिनियाँ सेनाले भारतीय सेनामाथि ढुंगामुढा गरेको भारतीय पक्षले आरोप लगाएको छ ।