अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघ्यो
बुधबार, जेष्ठ १४, २०७७

काठमाडौँ- अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन ७७४ जनाभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो समय अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा विस्तारै कमी आएको छ । अमेरिकामा हालसम्म मृत्यु हुनेको संख्या १ लाख ५७९ पुगेको छ ।

त्यस्तै मंगलबार झण्डै १९ हजार संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या १७ लाख २५ हजारभन्दा बढी पुगेको छ । ४ लाख ७९ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । १७ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको संक्रमण ओरालो लाग्ने क्रममा रहेका देशमा फेरि महामारीको दोस्रो लहर आउन सक्ने चेतावनी दिएको छ ।

संक्रमण फैलिन नदिन अपनाइएका उपायहरुमा छाड्न थालियो भने फेरि दोस्रो चरणको महामारी आउन सक्ने भएकोले लकडाउन लगायत उपाय खुकुलो नबनाउन डब्ल्यूएचओले आग्रह गरेको छ ।

जेनेभामा भएको अनलाइन ब्रिफिङ्गको क्रममा डब्ल्यूएचओको आपतकालीन सेवा प्रमुख डा. माइक रायनले विश्व अहिले पनि कोरोना भाइरस महामारीको पहिलो लहरको मध्यमा रहेको बताएका छन् ।

युरोप तथा उत्तर अमेरिकाका धेरै देशमा संक्रमण ओरालो लाग्ने क्रममा रहे पनि मध्य तथा दक्षिण अमेरिका, दक्षिण एसिया र अफ्रिकामा संक्रमण उकालो लाग्ने क्रममा रहेको उनले बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले कोरोनाको खोप सबैभन्दा पहिले अमेरिकाले बनाउने दावी गरेका छन् ।