जाजरकोटमा बालुवाको ढिस्कोले पुर्दा २ जनाको मृत्यु

जाजरकोटमा बालुवाको ढिस्कोले पुर्दा २ जनाको मृत्यु
बुधबार, जेष्ठ १४, २०७७

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–९ तात्रमा स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा पुरिएर ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ ।

मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा भेरी नगरपालिका–१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिए ।

सिंह दम्पतीसहित खिरखिरेस्थित बालुवा निकालिरहेका सोही गाउँका कमला सिंह, तारा सिंह, लक्ष्मी सिंह र तारा सिंहको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।