महङ्गो मूल्यमा मास्क र स्यानिटाइजर बेच्ने अनलाईन पसलेलाइ कारवाही

महङ्गो मूल्यमा मास्क र स्यानिटाइजर बेच्ने अनलाईन पसलेलाइ कारवाही
बुधबार, जेष्ठ १४, २०७७

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मुल्य लिएर उपभोक्ता ठगेको भन्दै तीनवटा व्यापारिक फर्मलाई कारवाही गरेको छ।

विभागले मंगलबार प्रचलित कानुन र उपभोक्ता हित विपरीतको काम गरेको पाइएका कारण तीनवटा फर्मलाई २ लाख ७० हजार रूपैयाँ जरिवाना गरेको हो।

मनोमानी रूपमा बढी मूल्य लिएर मास्क र स्यानिटाजर बिक्री गरेको भन्दै विभागको टोलीले राजधानीको तिनकुनेस्थित नक्षत्र इन्कर्पोरेशन प्रालिलाई २ लाख रूपैयाँ जरिवाना गरेको छ।

साथै व्यवसाय दर्ता र खरिद बिल प्रयोग नगरी सामान बिक्री गर्ने दुईवटा अनलाइन शपलाइ पनि जरिवाना गरेको छ। टोलीले कोटेश्वरमा रहेको अलिबाबा नेपाल शपलाइ व्यवसाय दर्ता नगरी व्यापारीक क्रियाकलाप गरेको पाइएपछि ५० हजार रूपैयाँ जरिवाना गरेको छ।

यस्तै इजी शपले ग्राहकलाइ बिल प्रयोग नगरी सामान बिक्री गरेको पाइएपछि २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको हो।