फिल्म उद्योगमा अश्लील भिडियो आतंक भन्दै प्रहरीमा उजुरी

फिल्म उद्योगमा अश्लील भिडियो आतंक भन्दै प्रहरीमा उजुरी
बुधबार, जेष्ठ १४, २०७७

काठमाडौं । केही नेपाली नायिकाहरूको नक्कली अश्लील भिडियो सार्वजनिक भएसँगै कारवाहीको माग गर्दै नेपाल चलचित्र कलाकार संघले प्रहरीमा उजुरी दिएको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौंका एसपी होविन्द्र बोगटीका अनुसार कलाकार संघले मंगलबार प्रहरीमा उजुरी दिएको हो ।

भारतले नेपालको सीमा मिचेको विषयमा नायिका मनीषा कोइराला र वर्षा राउतले दिएको अभिव्यक्ति चर्चामा रहेकै बेला नेपाली नायिकालाई बदनाम गराउने उद्देश्यले यस्तो भिडियो सार्वजनिक भएको हुन सक्ने कलाकारहरूको ठम्याइँ छ ।

‘इनिडयन स्पाइडर स्क्वाड’ को नाममा आएको सूचनामा लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको भएको बताउँदै अश्लील भिडियोमा नेपाली नायिकाको अनुहारमा भिडियो बनाएर सार्वजनिक गरिएको हो ।

भिडियोमा नायिकाको मोबाइल ह्याक गरी सार्वजनिक गरेको सूचना पनि दिइएको छ। नेपाल र भारतबीचको सीमा विवादका कारण दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी चलिरहेको बेला दुई नेपाली नायिकाको नक्कली पोर्न भिडियो सार्वजनिक भएको हो ।