रविभवन स्थित सवारी दुर्घटनासँग जोडिएका कर्णेल जमानीमा छुटे

रविभवन स्थित सवारी दुर्घटनासँग जोडिएका कर्णेल जमानीमा छुटे
बुधबार, जेष्ठ १४, २०७७

काठमाडौं । सवारी दुर्घटना प्रकरणमा प्रहरी हिरासतमा राखिएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) समयभन्दा छिट्टै छुटेका छन् ।

लकडाउनको फाइदा उठाउँदै उनि समय भन्दा अघि नै छुटेका हुन् । वैशाख अन्तिम साता कर्णेल शिखर जबराले चलाएको बा. २१ च ४३४७ नम्बरको कारमा बा. ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुगेको थियो । दुर्घटनामा मोरङका २३ वर्षीय युवक टीकाराज गेलालले ज्यान गुमाएका थिए ।

दुर्घटनापछि सवारी ज्यान मुद्दामा कर्णेल जबरा हिरासतमा राखिए । उता मृतकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) थिएन । उनलाई उक्त मोटरसाइकल चलाउन दिने त्यसका धनीलाई पनि प्रहरीले समातेको थियो ।

उनीहरु ९ दिन हिरासतमा बसेपछि जिल्ला अदालतले दैनिक हाजिर जमानीमा राख्ने गरी थुनामुक्त गर्न आदेश दिएको हो ।